निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुने ः प्रधानमन्त्री ‘प्रचण्ड’

-


     केन्द्रीय आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार नेपाल उद्योग परिसङ्घको २१औँ वार्षिकोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिरःप्रदीपराज वन्त÷रासस

काठमाडौँ, ४ वैशाख
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको बताउदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा आफु स्पष्ट रहेको बताए ।
उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सवलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा समेत सरकार लागि परेको बताए ।

दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार रहेको बताउदै मौद्रिक नीतिलाई समेत अगाडि बढाउने र अर्थतन्त्रमा सुधार मात्र नभएर गुणात्मक परिणाम ल्याउन सरकार लागि परेको समेत प्रधानमन्त्री दाहालले बताए ।

निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्नसक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।” पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे ।
नयाँ वर्षको सुरुआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारीमा लागेको बताउदै विदेशी लगानी भित्रयाउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा रहेको प्रधानमन्त्री दाहालले बताए ।

वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको माग सम्बोधन गर्दै औद्योगिक वातावरण बनाउन सरकार तयार रहेको बताए । सो अवसरमा निजी क्षेत्रमा उद्योगी व्यवसायीका छाता सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो ।