मानव सेवा आश्रमका आश्रित लाई भोजन दान गर्दै यूनाइटेड क्लव पोखराको सप्ताह ब्यापी कार्यक्रम शुरु ।

-


     तुलसी राम सुवेदी    
     वैशाख १ गते २०८१ मा प्रकाशित


१ बैशाख पोखरा

यूनाइटेड क्लब पोखराले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी सप्ताहब्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन आजएक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन दान गरी सप्ताहब्यापी कार्यक्रमको शुरुवात गरेको छ ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको वताए । क्लबले महोत्सवको आयोजना गरी महानगर भित्र आर्थिक चलायमान गर्ने काम गरेको वताउदै युनाइटेड क्लबले गर्ने हरेक गतिविधीलाई महानगरको साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।
यूनाइटेड क्लबले यसअघि पनि मानव सेवा आश्रममा आयोजित महायज्ञ र अन्य अवसरमा पनि सहयोग गरेको आफुलाई अवगत भएको वताउदै तिमिल्सिनाले मानवसेवा जस्ता क्षेत्रमा यूनाइटेड क्लबले गरेको कामको प्रशंसा गरे ।
सो अवसरमा वोल्दै मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिस पुनले मानव सेवा आश्रममा आश्रितहरुलाई लक्षित गरी यूनाइटेड क्लबले भोजन दान गरेकोमा धन्यवाद ब्यक्त गरे ।


१४ औं वार्षिकोत्सव कार्यक्रमका संयोजक तथा क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लबले स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र हरेक वर्ष स्थापना दिवसको अवसर पारी सप्ताहब्यापी कार्यक्रमहरु गर्दै आइरहेकोमा यो पटक मानवहरुको सेवा गरी सप्ताहब्यापी कार्यक्रम सुरु गर्न पाउदा खुसी लागेको वताए ।

क्लबका कोषाध्यक्ष तथा भोजन दान कार्यक्रमका संयोजक सूर्य बहादुर बानियाँले यूनाइटेड क्लबले पोखरा महोत्सव सञ्चालन गरी विभिन्न विद्याका सामाजिक क्षेत्रहरुमा कार्यहरु गर्दै आइरहदा मानव सेवा आश्रममा समेत यूनाइटेड क्लबले भोजन दान कार्यक्रमको आयोजना गर्न पाउदा आफ्नो संस्था गौरवान्वित भएको वताए ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष आयोजना गर्ने सप्ताहब्यापी कार्यक्रमको शुरुवात पोखरामा रहेका वृद्धाश्रमहरुबाट शुरु गर्दै आइरहेको र यस पटक मानव सेवा आश्रमबाट सप्ताहब्यापी कार्यक्रम शुरु गर्न पाउदा साच्चैनै मानवकै लागि सेवा गरेको आभाष भएको वताए ।

क्लवले यस पटक मात्र नभइ मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित महायज्ञमा समेत १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको र त्यसभन्दा अगाडि पनि पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा भाँडाकुँडा र खाद्यान्न सामाग्री वितरण गरेको वताए ।
कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

यसैबिच क्लबले शनिवारनै पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई समिति द्धारा सञ्चालित परोपकार जेष्ठ नागरिक मिलन केन्द्र शिद्धेश्वर शिव मन्दिर भजन मण्डलीमा आवद्ध महिला सदस्यहरुलाई पोषाक वितरणका साथै केन्द्रमा आवद्धहरुलाई भोजन दान गरिएको महासचिव सुनारले बताए । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आइतबार दोश्रो दिन पोखरा १४ छिनेडाँडा स्थित शुक्रराज वलभद्र माविमा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम रहेको क्लबले जनाएको छ ।