काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै ।

-


     केन्द्रीय आवाज    
     चैत्र २६ गते २०८० मा प्रकाशित


चैत २६ गते ,काठमाडौं

काठमाडौं उपत्यकामा आज सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चान्द्रमाको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरेको जनविश्वास रहेको छ । तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिका माथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन रहिआएकोछ ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकला प्रदर्शन गर्ने गर्छ । यही दिन ललितपुरमा पनि एउटा कालो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।