
२१ चैत्र ,पोखरा
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन । बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आफ्नो राजिनामा पत्र बुझाएका हुन । गत बैशाखमा माओबादी सहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डे माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै गत फागुन २३ देखि अल्पमतमा परेका थिए ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।
अब प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् ।
बर्तमान सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गर्न सकेमा कांग्रेस बाहेक अरुको सरकार बन्न सक्छ अन्यथा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पाण्डेलाइ नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ सम्म सरकार गठन गर्न वा सरकार ढलाउन कुनै भुमिका नखेल्ने स्पष्ट पारिसकेको छ । तसर्थ बर्तमान सत्ता गठबन्धनबाट बामपन्थीहरुको सरकार बन्ने सम्भावना तत्काल देखिएको छैन। सत्ता गठबन्धन बाट सरकार बन्ने भएमा एमाले संसदिय दलका नेता खगराज अधिकारी मुख्य मन्त्री बन्ने पक्का जस्तै छ ।
मुख्य मन्त्रीपदबाट राजिनामा दिनु अगाडी बुधबार नै गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठक समेत बसेको थियो ।






