राष्ट्रिय समझदारी अनुसार शान्ति प्रक्रिया टुङ्गयाउने — प्रधानमन्त्री ‘प्रचण्ड’

-


     केन्द्रीय आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित


काठमाडौँ, १४ चैत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताएका छन् ।
द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारले चाहँदा चाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन नसकिएको बतांउदै उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै रहेको कारण समस्या अझै रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए ।
द्वन्द्वपीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्य उपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।