एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षत्री विजयी ।

-


     तुलसी राम सुवेदी    
     चैत्र १४ गते २०८० मा प्रकाशित


१४ चैत्र,पोखरा
नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन् ।
निवर्तमान सचिव समेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् । पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैनबहादुरले ५५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाएका थिए । कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत प्राप्त गरे । सबै पाँच जना पदाधिकारी खगराज समूहका नै बिजयी भएका छन् । साथै, सदस्यसम्म अधिकारी समूहको प्यानल नै बिजयी भएको छ ।
उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बराल बिजयी भए । बरालले प्रतिष्पर्धी शिव आचार्यलाई १३९ मतले पछाडि पार्दै बिजयी भएका हुन् । बिजयी बरालले ५२७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरे ।
सचिवमा अधिकारी प्यानलकै दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । लोकप्रिय मत ल्याएर सचिवमा विजयी दर्शन लामा यसअघि उपसचिव थिए ।
उपसचिव (महिला)मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् । अर्को एक उपसचिव मै अधिकारी प्यानलकै लालबहादुर परियार बिजयी भए । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी परियारले ५८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले ३३४ मत प्राप्त गरे ।


खुल्ला ५ सदस्यमा मोहन सुवेदी (६१९), तोरणबहादुर बानिया (५७७), झपट रानाभाट (५६७), ईमानराज पौडेल (५३५), बलराम पौडेल (५०८) मत ल्याएर बिजयी भएका छन् ।
महिला ३ सदस्यमा उषा बरुवाल (५२९), विष्णु सुवेदी (५०५) र कल्पना भवाँजी क्षेत्री (४९७) मत ल्याएर बिजयी भए ।

२०७८ मा भएको कास्की जिल्ला निर्वाचनमा पनि पृथ्वीसुब्बा र खगराज गुटबीच प्यानलगत प्रतिस्पर्धा हुँदा मिश्रित नतिजा आएको थियो भने यस पटक खगराज गुटको एकलौटी जित भएको छ
अध्यक्षमा विजयी भएका अधिकारीले विजयीको नारा जुलुस नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो नितान्त पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै कुनै नारा जुलुस नगर्न निर्देशन दिएका हुन् ।
उनले यो चुनावलाई सामान्य रुपमा लिन आग्रह गर्दै निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।