एमाले अध्यक्ष ओली पोखरा आउने

-


     केन्द्रीय आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित


चैत्र ९, पोखरा

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वपप्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । एमाले कास्कीको ११औं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली शनिबार पोखरा आउन लागेका हुन् ।
जिल्ला अधिवेशन चैत १० र ११ मा पोखरामा हुँदैछ । अधिवेशनको सबै तयारी पूरा भएको जनाईएकोछ । अधिवेशनमा कास्कीभरका १० हजार बढी नेता कार्यकर्ताको सहभागिता रहने एमालेले दावी गरेको छ ।
अधिवेशनलाई एकताको अधिवेशन तथा आगामी २०८४ सालको निर्वाचन लक्षित शक्ति प्रदर्शनका रुपमा लिइएको जनपरिचालन उपसमिति संयोजक नवराज ओझाले जानकारी दिए ।

अधिवेशन संघारमा कास्कीका एमालेको चुनावी रन्को सुरु भएको छ । नेताहरुले नेतृत्व सँगै विभिन्न पदमा जानका लागि छलफल र भेटघाटलाई तीब्र बनाएका छन् ।

अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९ सय ३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मूल समारोह संयोजक मनबहादुर गुरुङले जानकारी दिए ।
अधिवेशनले कुल १ सय ४४ सदस्य रहने जिल्ला कमिटीका १ सय २० जनाको चयन गर्नेछ । बाँकी १० प्रतिशत मनोनित र १० प्रतिशत अन्य पार्टीबाट आउन सक्नेको लागि छुट्याइएको अध्यक्ष गुरुङले बताए ।