टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डेटा चलाउन सकिने

-


     केन्द्रीय आवाज    
     चैत्र ६ गते २०८० मा प्रकाशित


काठमाडौँ, चैत्र ०६,
नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा मोबाइल डेटा प्रयोग गर्न सकिने भएको छ ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डेटा उपलब्ध हुन्छ ।
टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटिटिएच कम्बो प्याकेज र एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न सक्नेछन् ।
वार्षिक एफटिटिएच कम्बो प्याकेजअन्तर्गत ५० एमबिपिएस र १०० एमबिपिएस डेटाका साथै १ एनटिटिभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रूपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डेटा प्रयोग गर्न सक्नेछन् ।
एफटिटिएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डेटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यस अनुसार ५० एमबिपिएस, ७५ एमबिपिएस र १०० एमबिपिएस डेटा प्रयोगकर्ताले दैनिक रूपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डेटा प्रयोग गर्न सक्नेछन् भने १५० एमबिपिएस र २०० एमबिपिएस डेटा प्रयोगकर्ताले दैनिक रूपमा क्रमशः ९०० एमबी र १००० एमबी डेटा प्रयोग गर्न सक्छन्।
आफ्नो आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डेटा समेत चलाउन सकिने भएकाले टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ ।
एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरूले १९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवा बारेमा लिंक मार्फत जानकारी लिन सकिन्छ ।

त्यसैगरी ‘नेपाल टेलिकम एप प्रयोग गरेर पनि एनटी फाइबर र कम्पनीका अन्य विभिन्न सेवाका बारेमा जानकारी लिन सकिने कम्पनीको भनाइ छ ।