नेपाल टेलिकमको वार्षिकोत्सव सम्पन्न ।

-


     केन्द्रीय आवाज    
     माघ २२ गते २०८० मा प्रकाशित


काठमाण्डौ, २२ माघ –
नेपाल टेलिकमले स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपभोक्ताको चाहनाअनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानीय तहसम्म सेवा पुर्याउन सहयोग गर्ने सबै कर्मचारी र सम्बद्ध पक्षहरुमाधन्यवाद ज्ञापन गर्दै ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रुपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताइन् । पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तार लगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिइन् ।

सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउँदै मन्त्रीशर्माले कम्पनीको प्रगतिलाइ ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना बनाउन पहल गर्नु आवश्यक रहेको बताइन् । कम्पनीको ऐतिहासिक विरासत कायम राख्न र आयमा वृद्धि गर्न सम्पूर्ण संयन्त्र परिचालन गर्न समेत मन्त्रीशर्माले निर्देशन दिइन् ।

कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधिमन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए । आन्तरिक कार्य वातावरण चुस्तबनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम् भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको र सो का लागि नियामक निकायको तर्फबाट तर्फबाट सहयोग, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल टेलिकमका प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको बताए ।

उनका अनुसार कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगी टेलिकमका सेवाप्रदानगर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट “नेपाल टेलिकम अन ह्रविल“ कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ ।

हाल सञ्चालनमा रहेको चैटवोटलाई स्तरोन्नति गरी एलएलएममा माआधारित चार्टवोटको सफ्ट लन्च गरिनेछ । त्यसैगरी एनटी एनिभर्सरी अफर अन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराइएको छ । गत वर्षको एनिभर्सरी अफर अन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभी सहितको एफटीटीएच कम्बो प्याकेजखरिद गर्नु भएका ग्राहकले साविकको भन्दा करिव १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्नेछन् । नयाँग्राहकएवम् अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी २५० प्रतिशत सम्म पु¥याइएको कम्बो प्याकेज खरिद गर्न सक्नेछन् । त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिनेछ ।

कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो । साथै,कम्पनीमा २० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।