
२७ पुस, काठमाडौं । नेपालमा नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले लाइसेन्स नवीकरण नगर्दा २१ बाट १७ मा झर्न पुगेको हो । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा सञ्चालित याक एण्ड यती, ¥याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलको नाम उल्लेख छैन ।
विभागले पाँच तारा डिलक्स तथा पाँच तारा स्तरमा स्तर वर्गीकरण भई इजाजत पत्र नियमित रुपमा अध्यावधिक होटलको विवरण मात्र सार्वजनिक गरिएको बताएको छ । होटलले हरेक ५÷५ वर्षमा इजाजत पत्र नवीकरण गर्नुपर्ने जनाइएकोछ ।
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार यी होटल नवीकरण गर्ने प्रक्रियामा भने छन् । तर, यस प्रक्रियाका दौरान केही प्राविधिक विषयले होटल नवीकरण हुन नसकेको उनले बताए । अहिले होटल नवीकरण गर्न वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य बुझाउनु पर्छ ।
ठूला होटलले यसको प्रक्रिया पूरा गर्दा नै लामो समय लाग्दा समयमै नवीकरण गर्न नसकेको उनले बताए । कुनै होटलमा क्यासिनोको भुक्तानी र कुनै होटलमा श्रमसँग सम्बन्धित विषय समेत रहेका कारण होटलहरु नवीकरण हुन नसकेको उनले जानकारी दिए ।
पर्यटन विभागका अनुसार विगतमा पाँच तारा स्तरमा वर्गीकरण भएर इजाजतपत्र लिएका होटलले नवीकरणको प्रक्रिया पूरा गरेपछि भने पुनः सोही स्तरमा वर्गीकरण हुन सक्नेछन् । त्यसपछि ती होटललाई समेत पाँचतारे सूचीमा समावेश गरिने विभागले जनाएको छ । विभागले आफूले प्रक्रिया पूरा गरेको प्रमाण भए पेश गर्न समेत आह्वान गरेको छ । प्रमाण वास्तविक ठहरिए सूचीमा सुधार र परिमार्जन गरिने विभागको भनाइ छ ।
नेपालमा पाँच तारा डिलक्स स्तरमा वर्गीकरण भएको होटलको संख्या एक मात्र छ । झापाको मेचीनगरस्थित भेगस सिटी इन्टरटेन्मेन्ट (होटल मेची क्राउन)ले मात्र यो स्तरको वर्गीकरण पाएको छ । यसबाहेकका १६ होटल भने पाँच तारा स्तरका रहेका छन् ।
यी हुन् पाँच तारा डिलक्स र पाँच तारामा वर्गीकरण पाएका होटल
होटल मेची क्राउन, झापा (पाँच तारा डिलक्स)
सोल्टी होटल लिमिटेड, काठमाडौं
होटल डेला अन्नपूर्ण, काठमाडौं
पोखरा ग्राण्ड, पोखरा
तारागाउँ रिजेन्सी, बौद्ध
द मल्ल होटल, काठमाडौं
होटल साङ्ग्रिला, काठमाडौं
टाइगरवान प्रालि, रुपन्देही
सोल्टी वेस्टेन्ड प्रिमियम, नेपालगञ्ज
होटल सेन्ट्रल प्लाजा, कोहलपुर
होटल मेरियट, काठमाडौं
होटल द किङ्ग्सबरी, विर्तामोड
सिटी होटल लिमिटेड, काठमाडौं
होटल अलफ्ट, काठमाडौं
इच्छा होटल, बारा
होटल ल्हासा इन्टरनेसनल, काठमाडौं
अकामा होटल, काठमाडौं






