
२५ पौष,पोखरा
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले केही ठूला व्यवसायीहरु नै नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको बताएका छन् ।
‘अपराध गर्नेहरु नै ठूला व्यवसायी छन्,गुरु नै व्यापारीका नेताहरु हुन्,’ नेपाल सरकारको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गण्डकी प्रदेशका उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग राखेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले हाम्रा कानून पनि स्पस्ट नभएको बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोइरालाले विद्युतीय गाडी आयातको क्रममा कानूनी छिद्र प्रयोग गरी कर छली गरिएको आशंका पनि व्यक्त गरे ।
सरकारले शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायम गरेको छ भने १०० किलोवाट देखि २०० किलोवाटसम्मका सवारीमा ३० प्रतिशत अन्तःशुल्क कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क पनि ३० प्रतिशत नै लगाएको छ ।
उनले संसदले व्यवसायी तथा उपभोक्तासँग जोडिएका कानून नबनाउँदा पनि समस्या भएको बताए ।
गएको संसदले निजी क्षेत्रसँग सम्बन्धित एउटा पनि कानून पारित नगरेको दृष्टान्त पेश गर्दै उनले भने,‘कति विधेयक पेश भए, कति कानून बने भन्ने प्रष्ट छ । हामीले माननीयज्यूहरुलाई कानून बनाउन पठाएका हौं,उहाँहरु निजी क्षेत्रका समस्याप्रति गम्भीर हुनुहुन्न ।’
व्यवसायीले आन्तरिक राजश्व कार्यालयमा शून्य कारोबार पेश गर्नु भनेको व्यवसाय नभएको प्रमाण भएको तर्क गर्दै त्यस्तोमा किन लेखा परीक्षण चाहियो भन्ने प्रश्न पनि गरे ।
कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रामप्रसाद पौडेलले निजी क्षेत्रले उठाएका समस्याहरुको समाधान खोजिने प्रतिवद्धता व्यक्त गरे । उपभोक्ता हितसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका उनले उपभोक्ता अधिकार रक्षामा सचेत रहन व्यवसायीसँग आग्रह पनि गरे । अन्तरक्र्रिया कार्यक्रममा विभागका अधिकृतहरु नारायण भट्टराई तथा राजनकुमार भट्टराईले वाणिज्य एवं आपूर्ति क्षेत्रसँग सम्बन्धित विभिन्न प्रावधानबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वािणज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलसहित महिला उद्यमीहरु, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारी,कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।




