
१३ असोज, पोखरा ।
गण्डकी प्रदेश सरकारको निजामती प्रशासनको नेतृत्व पुनः फेरिएको छ। सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गर्दै सहसचिवबाट सचिवमा पदोन्नति भएकी आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको नयाँ प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कर्णलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनसँगै बराल गण्डकी प्रदेशको प्रशासनिक नेतृत्वबाट बाहिरिने भएका छन्।
बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने राष्ट्रिय सतर्कता केन्द्रमा सचिवको जिम्मेवारी दिइने भएको छ। उनी अर्थ मन्त्रालयको राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा सरुवा भएर आएका थिए। सरकारले जेठ २५, २०८३ मा उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउने निर्णय गरेको थियो भने उनले जेठ २७ गते प्रदेशमा उपस्थित भएर पदभार ग्रहण गरेका थिए।
गण्डकीमा जिम्मेवारी सम्हालेको करिब पाँच महिनामै पुनः संघीय निकायमा सरुवा हुने भएपछि बरालको जिम्मेवारी छोटो अवधिमै परिवर्तन भएको हो। उपलब्ध विवरणअनुसार उनी राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिव हुँदै राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारीमा पुग्ने भएका छन्।
यसैबीच, बराल सरुवा भएर जान लागेको राष्ट्रिय सतर्कता केन्द्रमा सचिवको दरबन्दीसमेत केही समयअघि पुनर्संरचना गरिएको थियो। यसअघि केन्द्रमा प्राविधिकतर्फको सचिव दरबन्दी रहेकामा दरबन्दी मिलानका क्रममा प्रशासन सेवातर्फको सचिव पद कायम गरिएको थियो। त्यसक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासन सेवातर्फको सचिव दरबन्दीलाई प्राविधिकतर्फ स्थानान्तरण गरिएको थियो।
गण्डकीमा १४ औँ प्रमुख सचिव बन्ने आभा
आभा श्रेष्ठ कर्ण गण्डकी प्रदेशको प्रमुख सचिव बन्ने १४ औँ विशिष्ट श्रेणीकी अधिकृत हुने भएकी छन्। संघीयता कार्यान्वयनसँगै गण्डकी प्रदेश सरकार स्थापना भएयता प्रशासनिक नेतृत्वमा पटक–पटक परिवर्तन हुँदै आएको छ।
गण्डकी प्रदेशका पहिलो प्रमुख सचिवका रूपमा लक्ष्मण अर्यालले २०७४ माघ १८ देखि २०७५ असार ६ गतेसम्म जिम्मेवारी सम्हालेका थिए। त्यसपछि क्रमशः नारायणप्रसाद बिडारी, लक्ष्मीराम पौडेल, हरिप्रसाद बस्याल, विष्णुप्रसाद नेपाल, डा. दामोदर रेग्मी, रविलाल पन्थ, लक्ष्मी कुमारी बस्नेत, रघुराम विष्ट, शोभाकान्त पौडेल, डा. खगेन्द्रप्रसाद सुवेदी र डण्डुराज घिमिरेले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए।
बराल गण्डकीका १३ औँ प्रमुख सचिव हुन् भने कर्णको पदस्थापनपछि उनी १४ औँ प्रमुख सचिवका रूपमा प्रदेश प्रशासनको नेतृत्व सम्हाल्नेछिन्।
गण्डकी प्रदेशमा प्रमुख सचिवको कार्यकाल छोटो–छोटो अवधिमा परिवर्तन हुँदै आउनु प्रदेश प्रशासनको स्थायित्व र कार्यसम्पादनका दृष्टिले पनि चासोको विषय बन्दै आएको छ। नयाँ प्रमुख सचिव कर्णको आगमनसँगै प्रदेश सरकारको प्रशासनिक संयन्त्रले नयाँ नेतृत्व पाउने भएको छ।





