
पोखरा, ३ असोज
पोखराको अग्रणी साहित्यिक संस्था गीताञ्जली साहित्य परिवार, पोखरा–१०, रामघाटको आयोजनामा २८५औँ साधना प्रभात तथा स्रष्टा शंकर ज्ञवालीद्वारा रचित प्रथम मुक्तक संग्रह ’मनका छिर्का’ को लोकार्पण समारोह भव्यताका साथ सम्पन्न भएको छ। शनिबार पोखरा–११, रामघाटस्थित पवित्र गीता मन्दिरको सभाहलमा आयोजित उक्त विशेष समारोहमा यस क्षेत्रका गण्यमान्य साहित्यप्रेमी, स्रष्टा, शिक्षाविद् तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा बलराम उपाध्याय रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा बलराम उपाध्याय तथा सभापति भानुभक्त भण्डारी ‘क्षितिज’ लगायत अतिथिहरूले संयुक्त रूपमा स्रष्टा ज्ञवालीको मुक्तक कृति ’मनका छिर्का’ को औपचारिक लोकार्पण गर्नुभयो।
कृतिमाथि विश्लेषणात्मक समीक्षा प्रस्तुत गर्दै मुख्य समीक्षक साहित्यकार असफल गौतमले विमोचित पुस्तकले समाजका सूक्ष्म संवेदना, विकृति माथिको प्रहार र मानवीय भावनालाई सरल तथा चोटिलो शैलीमा समेटेको बताउनुभयो। उहाँले स्रष्टाको साहित्यिक यात्रा र व्यक्तित्वबारे प्रकाश पार्दै ‘मनका छिर्का’ नेपाली मुक्तक क्षेत्रमा एक महत्त्वपूर्ण योगदान साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वशिक्षक समेत रहनुभएका स्रष्टा शंकर ज्ञवालीको यो पहिलो प्रकाशित कृति हो। लामो समय शिक्षा क्षेत्रमा समर्पित भई समाज रूपान्तरणमा योगदान पु¥याउनुभएका ज्ञवाली साहित्यिक साधनामा पनि निरन्तर सक्रिय हुनुहुन्छ । उहाँ यसअघि नै ’शिक्षा राष्ट्रिय पुरस्कार २०६९’ तथा ’मुक्तकमणि राष्ट्रिय पुरस्कार २०७४’ जस्ता प्रतिष्ठित सम्मानबाट विभूषित भइसक्नुभएको छ। शिक्षा र साहित्य दुवै विधामा उहाँले पु¥याउनुभएको योगदानको कार्यक्रमका वक्ताहरूले उच्च प्रशंसा गरेका थिए।
साधना प्रभातको २८५औँ शृङ्खलाका रूपमा सम्पन्न यस नियमित साहित्यिक भेलामा उपस्थित अन्य विद्वान् तथा स्रष्टाहरूले नेपाली साहित्यमा मुक्तक विधाको महत्त्व, यसको संरचनात्मक सुन्दरता र प्रभावकारिताबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कल्याण पन्त,शिव प्रसाद गौतम ,सुमन ज्ञवाली,हृशिकेस बराल लगायतका लब्धप्रतिष्ठित साहित्यकारहरूले शुभकामना ब्यक्त गर्नु भएको थियो । वक्ताहरूले स्रष्टा ज्ञवालीलाई प्रथम कृतिका लागि बधाई दिँदै उहाँको उत्तररोत्तर प्रगति र निरन्तर लेखन यात्राको हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमलाई संस्थाकी सचिव चन्द्रावती वाग्लेले कुशल ढङ्गले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष एवं विमोचित कृतिका स्रष्टा शंकर ज्ञवालीले आफ्नो पहिलो कृति लोकार्पणको सुखद अवसरमा उपस्थित भई हौसला प्रदान गर्ने प्रमुख अतिथि, समिक्षक, साहित्यिक अनुरागीहरू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो। कला, साहित्य र संस्कृतिको उत्थानका लागि गीताञ्जली साहित्य परिवारले आयोजना गर्दै आएको ’साधना प्रभातले पोखराको साहित्यिक वातावरणलाई थप ऊर्जावान् बनाएको सहभागीहरूले बताए। साथै पोखराका उदयीमान बालसाहित्यकार देखि बरिष्ठ साहित्यकारहरुले आ–आफ्ना रचना समेत बाचन गर्नु भएको थियो ।





