
पोखरा, साउन ३
पोखरा टेलिभिजनको सम्पादकमा वरिष्ठ पत्रकार माधव बराल नियुक्त हुनुभएको छ। टेलिभिजनको सञ्चालक समितिको निर्णयअनुसार उहाँलाई सम्पादकको जिम्मेवारी प्रदान गरिएको हो।
आइतबार पोखरा टेलिभिजनको विरौटास्थित कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रवेश चन्द्र उप्रेतीले नवनियुक्त सम्पादक बराललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्षसमेत रहनुभएका बरालसँग पत्रकारिता क्षेत्रमा करिब साढे दुई दशकको अनुभव छ। उहाँले २०५९ सालदेखि सक्रिय पत्रकारिताको यात्रा प्रारम्भ गर्नुभएको हो। यस अवधिमा अन्नपूर्ण पोस्ट दैनिक, नेपाल समाचारपत्र दैनिक, हिमाल खबरपत्रिका, गोरखापत्र दैनिक, समाधान दैनिक, रेडियो अन्नपूर्ण, पोखरा हटलाइन दैनिक, माछापुच्छ्रे एफएम तथा पब्लिक टिभी लगायत विभिन्न सञ्चारमाध्यममा विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव हासिल गर्नुभएको छ।
यसैगरी, बरालले २०७५ देखि २०७९ सालसम्म पोखरा महानगरपालिकाको प्रेस संयोजकका रूपमा पनि कार्य गर्नुभएको थियो। पोखरा महानगरपालिका–२८, कालिकामा जन्मिनुभएका उहाँले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।
स्वागत कार्यक्रममा अध्यक्ष उप्रेतीले बरालको नेतृत्वमा संस्थाको गरिमा, पत्रकारिताको गुणस्तर र विश्वसनीयताले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बरालको लामो व्यावसायिक अनुभव, नेतृत्व क्षमता र सम्पादकीय दक्षताले संस्थालाई अझ सशक्त, सिर्जनशील र व्यवस्थित बनाउने अपेक्षा व्यक्त गर्दै बदलिँदो सञ्चार परिवेश र दर्शकको रुचिअनुसार गुणस्तरीय सामग्री उत्पादनमा उहाँको नेतृत्व प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो।
नवनियुक्त सम्पादक बरालले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै निष्पक्ष, विश्वसनीय र उत्तरदायी पत्रकारिताप्रति प्रतिबद्ध रहने बताउनुभयो। डिजिटल युगको चुनौती र अवसरलाई आत्मसात् गर्दै दर्शकको अपेक्षाअनुसार नवीन, सन्तुलित र प्रभावकारी सामग्रीमार्फत पोखरा टेलिभिजनलाई थप विश्वसनीय र लोकप्रिय सञ्चारमाध्यमका रूपमा स्थापित गर्न आफू समर्पित रहने उहाँले उल्लेख गर्नुभयो।






