
१८ जेठ २०८३, पोखरा
‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत गुरुङलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो।
पुरस्कारअन्तर्गत रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। आगामी जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहका अवसरमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित यो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष जुन ३ (अन्नपूर्ण हिमाल आरोहण दिवस) को अवसरमा प्रदान गर्ने गरिन्छ।
यस वर्षको प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए। समितिका सदस्यहरूमा पत्रकार तथा कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ सहभागी थिए।
यसअघि उक्त पुरस्कारबाट बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली र रोहितराज पराजुली सम्मानित भइसकेका छन्।
पत्रकार भुपाल गुरुङको जन्म स्याङ्जाको वालिङ नगरपालिका–३ राम्चेमा भएको हो। हाल उनी पोखराको अमरसिंह चोकमा बसोबास गर्दै आएका छन्। वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिमहरू समेत प्राप्त गरेका छन्।
गुरुङले गोर्खाली रेडियो, युनाइटेड राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन लगायतका सञ्चारगृहमा कार्यअनुभव हासिल गरिसकेका छन् भने हाल कान्तिपुर टेलिभिजनमार्फत सक्रिय पत्रकारिता गर्दै आएका छन्।
पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानका लागि उनी विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भइसकेका छन्। उनले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९ तथा पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ लगायतका प्रतिष्ठित सम्मानहरू प्राप्त गरेका छन्।
हाल गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिवका रूपमा कार्यरत छन्। साथै, उनी आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन तथा चलचित्र पत्रकार संघ लगायत विभिन्न संस्थामा आबद्ध छन्।






