
पोखरा, असार १८
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका–२०७१ बमोजिम आवश्यक सबै प्रक्रिया पूरा भएपछि बिहीबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो।
यसअघि कास्कीका सबै पाँचवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिसकेका थिए। सोही उपलब्धिलाई आधार मानेर जिल्लास्तरमा घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले पूर्ण खोप अभियानलाई सफल बनाउन योगदान पु¥याउने सबै सरोकारवाला निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कुनै पनि जनस्वास्थ्य अभियानको सफलता सरकारको प्रयास मात्र नभई जनप्रतिनिधि, सरोकारवाला निकाय र आम नागरिकको सक्रिय सहभागितामा निर्भर रहने बताउनुभयो।
उहाँले स्वस्थ नागरिक नै समृद्ध नेपालको आधार भएकाले भावी पुस्ताको स्वास्थ्य संरक्षणका लागि खोप सबैभन्दा प्रभावकारी र सुरक्षित माध्यम रहेको उल्लेख गर्दै नियमित खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. युवनिधि बसौला, मन्त्रालयका अतिरिक्त सचिव खिमबहादुर खड्का, जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल तथा जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले पूर्ण खोप सुनिश्चितताले बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै यसको दिगोपन कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा पूर्ण खोप अभियानलाई सफल बनाउन उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिका साथै सेवा अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दीगो बनाउँदै आगामी दिनमा समेत नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।






