समयानुकूल पत्रकारिता ः पोखरामा एआई र मल्टिमिडिया तालिम सुरु !

-


     केन्द्रीय आवाज    
     वैशाख २७ गते २०८३ मा प्रकाशित


२७ बैशाख पोखरा
नेपाल पत्रकार महासंघ कास्की को आयोजनामा पत्रकारितामा मल्टिमिडिया तथा एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी तालिम आईतबार देखि पोखरामा सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रशासनिक प्रमुख मुक्तीराम अर्याल ले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा मल्टिमिडिया र एआईको प्रयोग अपरिहार्य बन्दै गएको बताउनुभयो । उहाँले यस्ता तालिमहरूले पत्रकारहरूलाई समयअनुकूल दक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा प्रशिक्षकका रूपमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस , लामाचौर का प्राध्यापक, ई. सन्तोष पन्थ ले मल्टिमिडिया उपकरणको प्रयोग, डिजिटल कन्टेन्ट निर्माण तथा एआई प्रविधिको व्यवहारिक उपयोगबारे सहजीकरण गर्नुभएको थियो।
तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता माधव प्रसाद बराल ले गर्नुभएको थियो । उपाध्यक्ष माधव रेग्मी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङ ले गर्नुभएको थियो।
यस अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल ले शुभकामना व्यक्त गर्दै पत्रकारितामा प्रविधिको प्रभावकारी प्रयोगले विश्वसनीयता, पहुँच र प्रभावकारिता बढाउने धारणा राख्नुभयो । पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले ‘समय आन्दोलन’ को अभियान समेत सुरु गरेको उहाले बताउनु भयो । कार्यक्रममा पोखरा महानगरपालिका सूचना अधिकारी कृष्ण प्रसाद तिवारी लगायत अन्य अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।
सहभागी पत्रकारहरूले तालिमले आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन ्। पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको छ । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पोखराका क्रियाशील पत्रकारहरूको सहभागीता रहेको थियो । तालिम बैसाख २९ गते तिन दिन सम्म सञ्चालन हुनेछ ।