
काठमाडौँ, २०८२ असोज ६
गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा भएको क्षतिको क्षतिपूर्ति स्वरूप हालसम्म करिब २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा जम्मा एक हजार ९८४ वटा दाबी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी दाबी ‘द ओरियन्टल इन्स्योरेन्स कम्पनी’मा परेको छ, जसअन्तर्गत ४० वटा दाबीमार्फत करिब पाँच अर्ब १४ करोड रुपैयाँ बराबर क्षतिपूर्ति माग भएको छ।
त्यसपछि ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी’मा २५८ वटा दाबी दर्ता भई चार अर्ब ९३ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति मागिएको छ भने ‘शिखर इन्स्योरेन्स कम्पनी’मा ३६६ दाबी दर्ता भई दुई अर्ब ३९ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।
अन्य बीमा कम्पनीमा दर्ता भएका प्रमुख दाबीहरू यसप्रकार छन् ः
आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स ः २४ दाबी, करिब १ अर्ब ५९ करोड रुपैयाँ।
सगरमाथा–लुम्बिनी इन्स्योरेन्स ः २३३ दाबी, करिब १ अर्ब ४७ करोड रुपैयाँ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स ः १९६ दाबी, करिब १ अर्ब १५ करोड रुपैयाँ।
नेको इन्स्योरेन्स ः ४० दाबी, करिब १ अर्ब नौ करोड रुपैयाँ।
सानिमा जिआइसी ः १२९ दाबी, करिब ७९ करोड रुपैयाँ।
राष्ट्रिय बीमा कम्पनी ः १७२ दाबी, करिब ५० करोड रुपैयाँ।
युनाइटेड अजोड इन्स्योरेन्स ः १७० दाबी, करिब ४९ करोड रुपैयाँ।
नेपाल इन्स्योरेन्स कम्पनी ः ७९ दाबी, करिब ४७ करोड रुपैयाँ।
एनएलजी इन्स्योरेन्स ः १५१ दाबी, करिब ३९ करोड रुपैयाँ।
प्रभु इन्स्योरेन्स ः ६९ दाबी, करिब १९ करोड रुपैयाँ।
त्यस्तै, नेशनल इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स तथा ट्रष्ट माइक्रो इन्स्योरेन्समा समेत साना दाबीहरू दर्ता भएका छन्।
बीमा व्यवसायी सङ्घको प्रतिबद्धता
नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका कारण प्रभावित सम्पत्तिको क्षति मूल्याङ्कन गरी दाबी भुक्तानी प्रक्रिया छिटो टुङ्ग्याउने प्रतिबद्धता जनाएको छ।
सङ्घका अध्यक्ष राजेन्द्र मल्लका अनुसार, बीमितले आवश्यक कागजातसहित क्षतिको विवरण चाँडै बीमा कम्पनीमा बुझाउनुपर्ने र कम्पनीहरूले पनि दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर छिटो निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाएको छ।
विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीबाट सिकाइ लिँदै हालको विपत्पछि बीमाको आवश्यकता झन् महत्त्वपूर्ण भएको भन्दै उनले बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक रहेको बताए।
सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका प्रती श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासनिक संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार तथा यातायातलगायतका भौतिक संरचनामा पुगेको क्षतिको गहिरो दुःख व्यक्त गर्दै दाबी भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्न मातहत निकायलाई आह्वान गरेको छ।






