
फाईल तस्बिर
काठमाडौँ, असोज ३
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई समान अधिकारसहित राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताउनुभएको छ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विगतका विभेद र उत्पीडनको अन्त्य संविधानमार्फत् भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपतिले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै सेवामा समान पहुँच र सामाजिक सुरक्षामा जोड दिनुभयो।
उहाँले प्राकृतिक स्रोतसाधनको सदुपयोग, बेथिति अन्त्य र सुशासनको प्रभावकारी कार्यान्वयन भए नेपाल छिट्टै समुन्नत राष्ट्रको अग्रस्थानमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
संविधान दिवसको अवसरमा उहाँले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान दिने सबैप्रति आभार प्रकट गर्नुभयो।





