
२३ भाद्र पोखरा,
पोखराको लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा र छाता संस्था लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर मिलेको छ । लेखनाथ उद्योग बाणिज्य संघमा एक दशक बढीको यात्रा गरेकी जानुका पराजुली अधिकारीले अन्य अग्रजहरु र समकालीनहरुलाई पाखा लगाउंदै संघको नेतृत्व गर्ने अवसर पाएकी छन ।
जानुकाले आफ्ना प्रतिद्वन्दी राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित भएकी हुन ्। यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन भने राजेन्द्र संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। जानुका आंफुले मात्र नभएर उनको प्यानलमा रहेका सबैजसो उमेदवारहरुले समेत आश्चर्यजनक ढंगले विजय प्राप्त गरेका छन ।
संघको नयाँ कार्यसमितिको लागि भएको निर्बाचनमा अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र उनका प्रतिद्वन्दी राजेन्द्रले ८ सय ३३ मत मात्र प्राप्त गरेका थिए।
अधिबेशनबाट नयाँ कार्यसमितिमा निर्बाचित हुन एक महिना अगाडीबाट नै जानुका र राजेन्द्रले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका थिए । उनीहरुको चुनाबी अभियानलाइ हेर्ने र बुझ्नेहरुले निर्बाचनबाट कार्यसमितिमा मिश्रित परिणाम आउने अपेक्षा गरेको भन्नेहरु प्रशस्त थिए। तर,सबैको अनुमान बिपरित जानुकाको प्यानलका सबै उमेद्वारहरु राम्रो मतान्तर सहित कार्यसमितिको बिभिन्न पदमा निर्बाचित हुने अवसर प्राप्त गरेका छन।
संघको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्दी उपेन्द्रराज सुबेदी राजुले ८ सय ५३ मतमा चित्त बुझाउनुपर्यो। सुबेदी १ सय १३ मतले पराजित हुन् पुगेका छन। सुबेदी नेपाली काँग्रेस निकट भएकोले उनलाई कांग्रेस निकटको मत पनि जाने र उनले जित्न सक्ने अनुमान धेरैले गरेका थिए। बाँस्तोला माओबादी भएको कारण कांग्रेस निकट ब्यबसायीको मत पाउने आशामा सुबेदी रहेपनि मतदाताले प्यानलमा नै बढी मत दिएको कारण एमाले र कांग्रेसको मत पाएर जित्ने सुबेदीको आशा निराशामा परिणत हुनपुग्यो ।
यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर बिजयी बन्दा उनकी प्रतिद्वन्दी मेनुका श्रेष्ठले ६ सय ७४ मत मात्र प्राप्त गरिन। अघिल्लो निर्बाचनमा उनै श्रेष्ठलाई मात्र ६ मतले पराजित गरेर द्वितीय उपाध्यक्ष निर्बाचित भएका कर्माचार्य यस पटक पनि उनैसंग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यतामा परेका थिए । तर यसपटक भने ४ सय ७६ मतको फराकिलो अन्तरले कर्माचार्य प्रथम उपाध्यक्ष बिजयी भएका छन।
संघको द्वितीय उपाध्यक्षमा पनिं जानुका प्यानलका ध्रुबबाबु भट्टराई आइडीले अन्य उमेदवारको भन्दा बढी अर्थात ६ सय १५ मतको फराकिलो अन्तरमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गरेका छन। जानुका प्यानलका ध्रुबले १ हजार २ सय १८ मत पाउँदा उनका प्रतिद्वन्दी धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र प्राप्त गरेका थिए।
संघको महासचिब पदमा भने अन्य पदाधिकारीको तुलनामा बढी प्रतिष्पर्धा रहेको मतगणनाको परिणामले देखाएको छ। जानुका प्यानलका महासचिबका उमेदवार भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा उनका प्रतिद्वन्दी जिबन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए। उनीहरुको बिचमा ७९ मतको मात्र अन्तर परेको थियो।
संघको उपमहसचिब पदमा जानुका प्यानलकी गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्बाचित भईन। उनका प्रतिद्वन्दी लक्ष्मी प्रसाद ढुंगानाले ७ सय ६६ मत मात्र प्राप्त गरेका थिए। जस अनुसार मल्लले ३ सय मतले ढुंगानालाइ पराजित गरेकी हुन्। मल्ल यस अगाडी पनि संघको कार्यसमितिमा लोकप्रिय मतका साथ् कार्यसमितिको सदस्यमा निर्बाचित भएर काम गरेकी थिईन।
लेखनाथ उद्योग बाणिज्य संघको कोषाध्यक्षमा पनि जानुका टिमका हरी बस्ताकोटी विजयो बनेका छन। उनले १ हजार २७ मत पाउँदा प्रतिद्वन्दी टिकाराम सापकोटाले बस्ताकोटीको भन्दा २ सय ४९ मत कम अर्थात ७ सय ७८ मत मात्र प्राप्त गरेका थिए। संघको अधिबेशनको उद्घाटन शुक्रबार भएपनि शनिबार मतदान सम्पन्न भएको थियो। आइतबार बिहान ८ बजेबाट मतगणना शुरु भएपनि राति करिब दुई बजे कार्य समितिका सदस्यहरुको मतगणना सम्पन्न भएको हो।
लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उमेदवार दयाराज भण्डारी बिजयी भएका छन उनले २७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जराले २१ मत मात्र प्राप्त गरेका थिए।
एसोसिएट तर्फ ५० जना मतदाता रहेकोमा ४८ जनाले मतदान गरेको बुझिएको छ । कार्यसमितिको संस्थागत सदस्यमा बिरभद्र कंडेल निर्बिरोध निर्बाचित भैसकेका छन ।
लेखनाथ उधोग बाणिज्य संघको आगामी कार्यकालको लागी निर्बाचित कार्यसमितिको खुला सदस्यहरुमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन। कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्बाचित हुने ब्यबस्था अनुरुप जानुका प्यानलबाट उमेदवारहरु मध्ये सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्बाचित भएका छन।
अन्य सदस्यहरुमा दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्बाचित भए भने कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बनेका छन। यसैगरी कार्यसमितिको दुईजना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भएका छन ।
राजेन्द्रको प्यानलबाट उमेदवारी दिएका सदस्यका उमेदवारहरु मध्ये भीमप्रसाद सुवेदी (सन्तोष) ले ५ सय ११, घनश्याम ढुंगानाले ६ सय ८८, किशोर अधिकारीले ७ सय १५, कृष्णप्रसाद सुवेदीले ८ सय ५७, नवराज पौडेलले ८ सय ७८, सन्तोष हमालले ५ सय, सुरेन्द्र गुरुङले ७ सय ११
र शिबराज अधिकारीले ६ सय २७ मत पाएका थिए। यसैगरी महिला सदस्यका उमेद्वारहरु सपना सुबेदीले ९ सय ७ र लक्ष्मी ठाकुर सुनारले ३ सय ६६ मत मात्र प्राप्त गरेकी थिईन महिला सदस्य सपना ३ मतको अन्तरले पराजित हुन् पुगेकी छन।
यस पटक लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचनलाई स्थानीय एबम प्रदेश तहमा बिभिन्न राजनीतिक दलहरुको चुनाबकै रुपमा कतिपयले लिएका छन। करिब एक महिना देखि नै उमेदवारहरु संघका सदस्य रहेका उधोगी व्यवसायीको घरदैलोमा मत मग्न पुगिरहेका थिए । लेखनाथ नगर क्षेत्र सहित रुपा र मादीका कतिपय वडाहरुमा ब्यबसाय गर्नेहरु पनि संघको सदस्य रहेकोले सबै ठाउँमा भेटघाट र अन्य कार्यक्रमको लागि उमेदवारहरु निरन्तर लामो समय ब्यस्त बन्नुपरेको थियो ।
यसबाहेक चुनाबमा राजनीतिक दलको प्रत्यक्ष प्रभाव पर्ने सम्भावनाका कारण पनि उमेदवारहरुले स्थानीय क्षेत्रका एबम आफ्नो बिचारसंग निकट रहेका पार्टीका नेता र कार्यकर्ताहरुसंग हारगुहार गर्दै मत माग्नुपर्ने बाध्यता समेत उमेदवारहरुले भोग्नुपरेको थियो । यसका लागि एक महिना भन्दा बढी समय उमेदवारहरु खटिनु परेको थियो ।
यसपटक जानुकाको प्यानललाई नेपाली काँग्रेससंग नजिक रहेका ब्यबसायीहरु र नेकपा माओबादी केन्द्र निकटका ब्यबसायीहरुको समर्थन रहेको थियो। जानुकाको प्यानलमा बरिष्ठ उपाध्यक्षका उमेद्वार गोपिचन्द्र बाँस्तोला र सदस्यका उमेद्वार भविन्द्र पुन ‘भबिन’ गरि दुई जना नेकपा माओबादी केन्द्र निकटका रहेका थिए भने अन्य बाँकी सबै नेपाली कांग्रेस निकटका ब्यबसायीहरु उमेद्वार बनेका थिए।
अर्को प्यानललाई नेकपा एमालेको पूर्ण समर्थन रहेको थियो। संघका बरिष्ठ उपाध्यक्ष समेत रहेर काम न्गरिसकेकोले उनको उमेदवारीलाई धेरैले स्वभाविक उमेदवारी मानेको कारण उनले विजय प्राप्त गर्ने अनुमान समेत गरिएको थियो। एमाले निकट मानिने राजेन्द्रको प्यानलको बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेस निकट मानिने ब्यबसायी उपेन्द्रराज सुबेदी राजुलाई राखिएको र उपमहासचिबमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका लक्ष्मीप्रसाद ढुंगानालाइ उमेदवार बनाइएको थियों ।
जसका कारण राजेन्द्रको प्यानललाई नेकपा एमाले सम्बद्ध ब्यबसायीको मात्र नभएर राष्ट्रिय स्वतन्त्र पार्टी निकट र राप्रपा निकट व्यवसायीको समेत साथ र समर्थन रहेको मानिएको थियो। यसका साथै कांग्रेस निकटका उपेन्द्रको बरिष्ठ उपाध्यक्षमा उमेदवारी रहेको कारण कांग्रेस सम्बद्ध व्यवसायीको मत पाउने आशामा राजेन्द्र र उनको प्यानल देखिन्थ्यो।




