
२३ भाद्र, पोखरा
नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै शासकीय व्यवस्थाविरुद्ध जेन–जी पुस्ताका युवाहरू सडकमा उत्रिएका छन्। काठमाडौंसहित देशका प्रमुख सहरमा भडकिएका प्रदर्शनहरू प्रहरीसँगको झडपमा परिणत हुँदा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने दुई सय पचासभन्दा बढी घाइते भएका छन्।
काठमाडौँमा मात्रै १६ जनाको ज्यान गएको छ भने उपत्यकाबाहिर इटहरी सहितका क्षेत्रमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
संघीय संसद भवन क्षेत्रको झडपपछि मृतक र घाइतेको संख्या तीव्ररूपमा बढेको बताइन्छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि उग्र प्रदर्शन र प्रहरीसँगको भिडन्त निरन्तर भइरहेका छन्।
अस्पतालमा चाप
स्वास्थ्य मन्त्रालयका अनुसार, सिभिल अस्पताल ३ जनाको मृत्यु, १ सयभन्दा बढी घाइते उपचाररत, ट्रमा सेन्टर ८ जनाको मृत्यु, ४९ घाइते उपचारत,वीर अस्पताल ६ जना घाइत एभरेष्ट अस्पताल ३ जनाको मृत्यु, ३४ घाइते, जसमा ७ को अवस्था गम्भीर ,केएमसी (काठमाडौँ मेडिकल कलेज) २ जनाको मृत्यु, ३२ घाइते, ६ जनाको शल्यक्रिया आवश्यक,त्रिवि शिक्षण अस्पताल १ जनाको मृत्यु, १८ घाइते,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ४ घाइते,नर्भिक अन्तर्राष्ट्रिय अस्पताल ३ घाइते,पोखराको गण्डकी अस्पताल, पोखरा १ घाइते ,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २ घाइते दमक, झापा ः ७ घाइते उपचाररत रहेको जनाईएको छ ।
गृहमन्त्रीको राजीनामा
उग्र आन्दोलनमा नागरिकको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको नैतिक जिम्मेवारी लिने बताउँदै पदबाट राजीनामा दिएका छन्। मन्त्रीपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्।
निःशुल्क उपचारको व्यवस्था
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न सबै संघीय अस्पताललाई निर्देशन दिएको छ । मन्त्री प्रदीप पौडेलले उपचार शुल्क नलिई आवश्यक सेवा उपलब्ध गराउन आदेश दिएका छन्। साथै, एम्बुलेन्स सेवा सहज र प्रभावकारी बनाउन मन्त्रालयले विशेष व्यवस्था गरेको छ।





