
२० श्रावण हेटौँडा,
नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलवार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई मंगलवार प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस अगाडिका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा कांग्रेस संसदीय दलका नेता बानियाँले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया सहितको हस्ताक्षर लिएर मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारका लागि दाबी पेस गरेका थिए ।
एमालेले भागमा पाएको छ वटा मन्त्रालय मध्ये बन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपक्षी विकास मन्त्रीमा मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठलाई जिम्मेवारी दिने तयारी भएको छ।
कांग्रेसको भागमा परेको मुख्यमन्त्री बाहेक ७ वटा मन्त्रालयको जिम्मेवारी भने केही दिनमा टुङ्ग्याउने तयारी गरिएको कांग्रेसका एक सांसदले जानकारी दिए। पार्टीभित्र भागबण्डा नमिलेका कारण कांग्रेसले आज सबै मन्त्रीको टुंगो लगाउन नसकेको हो । उनका अनुसार अहिलेलाई एक जना मन्त्री सरकारमा पठाउने र अन्य मन्त्रालयको हकमा पार्टी केन्द्रीय सभापतिसँग छलफल गरेर मात्रै निर्णय गर्ने गरी दलको नेताले तयारी गरेका छन् ।






