आज साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै, शिवालय मन्दिरहरुमा दर्शनार्थीको भीड

-


     केन्द्रीय आवाज    
     श्रावण २ गते २०८२ मा प्रकाशित


२०८२ साउन १, पोखरा
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर विविध धार्मिक र सांस्कृतिक गतिविधिका साथ मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने आजको दिनलाई वैदिक परम्पराअनुसार साउने सङ्क्रान्तिका रूपमा मनाउने गरिन्छ। आजबाटै सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले यस दिनलाई विशेष धार्मिक महत्वका साथ मनाउने चलन छ। यसअवसरमा शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिसमेत देखिएको छ।
धार्मिक विश्वासअनुसार साउन १ गते स्नान, दान, र आफन्तजनसँग जमघट गरी रमाइलो गर्ने चलन छ। असार महिनाभर खेतिपातीमा व्यस्त रहने कृषक वर्ग साउन १ लाई विश्राम र उत्सवको रूपमा लिने गर्छन्। यस दिन विशेष गरी सांझ ‘लुतो फाल्ने’ परम्परा समेत छ, जसअन्तर्गत,भिरीड.गी झार, भक्कयाम्लो , कुकरडाइनो, पानीअमला, कागती, अम्बा,लगायत जडीबुटीहरुले पूजा गरी घरको चारै दिशामा अगुल्टो हान्ने गरिन्छ ।
लुतो फाल्ने क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, र ढोका बन्द गर्ने जस्ता सांस्कृतिक रीतिरिवाजहरू पनि प्रचलित छन्। साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा आराधनासहित मनाउने चलन रहिआएको छ। विशेषगरी महिलाहरू हरियो चुरा र पहिरनमा सजिएर शिवभक्तिमा लीन हुने गर्छन्।
यस महिनामा हरियो र रातो रंगका वस्त्र तथा गहना बढी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। साउने सोमबारको व्रत र शिवालयमा विशेष पूजाआजाको तयारी पनि देशभर तीव्र रूपमा भइरहेको छ।