राज्यले मातृभाषा संरक्षणका लागि नीति बनाउनु अत्यावश्यकः सभामुख घिमिरे

-


     केन्द्रीय आवाज    
     जेठ ३१ गते २०८२ मा प्रकाशित


जेठ ३०, काठमाडौं
सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति निर्माणमा गम्भीरतापूर्वक जुट्नुपर्नेमा जोड दिएका छन्।
नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन उद्घाटन गर्दै उनले मातृभाषा पत्रकारितामा देखा परिरहेका चुनौतीहरू समाधानका लागि सरकारी तहबाट प्रभावकारी पहल आवश्यक रहेको बताए।
सभामुख घिमिरेले भने, “अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने दस्तावेज मातृभाषा संरक्षणको दिशामा मार्गदर्शक बन्नेछ। यो राष्ट्रलाई अझ सशक्त बनाउन सहयोग पु¥याउनेछ। अहिले प्राप्त राजनीतिक उपलब्धिहरूको संस्थागत संरक्षणका लागि पनि मातृभाषा र विविध जातजातिका संस्कृतिको संरक्षण जरुरी छ।”
उनले नेपालका १२४ जातजाति र लोपोन्मुख समुदायहरूको संरक्षणमा हाल राज्यका विभिन्न निकाय सक्रिय रहेको रासस, सार्वजनिक प्रसारण संस्था तथा गोरखापत्रले ६२ भाषामा सामग्री उत्पादनमार्फत योगदान दिइरहेको उल्लेख गरे।
सभामुख घिमिरेले सम्मेलनले विभिन्न जातजातिको अवस्थिति, सांस्कृतिक सम्पदा र विचारहरूको आदान–प्रदानको अवसर प्रदान गर्ने भन्दै यसको दीर्घकालीन प्रभाव सकारात्मक हुने धारणा राखे।
“नेपालमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, यसको विकासको दिशा र अन्तरराष्ट्रिय अभ्यासबारे जानकारी साटासाट गर्नु सम्मेलनको उद्देश्य हो,” उनले भने, “यसले मातृभाषा पत्रकारितालाई थप व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउन टेवा पु¥याउनेछ।”
नेपालमा मातृभाषा पत्रकारिताको जग बसाल्ने धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा पत्रकारिता शुरु भएको १०१औँ वार्षिकीको अवसरमा सम्मेलन आयोजना गरिनु ऐतिहासिक महत्वको रहेको सभामुख घिमिरेले उल्लेख गरे। “उनको योगदानले मातृभाषामा पत्रकारिता गर्ने मार्ग प्रशस्त ग¥यो,” उनले स्मरण गरे।
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले मातृभाषामा सञ्चार प्रवाहले समुदायमा सशक्त प्रभाव पार्ने बताए।
सम्मेलन संयोजक तथा नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले हरेक राजनीतिक परिवर्तनमा मातृभाषा पत्रकारिताको उल्लेख्य भूमिका रहेको बताए। “सामाजिक र सांस्कृतिक चेतना फैलाउने माध्यमको रूपमा यसले महत्त्वपूर्ण योगदान दिएको छ,” उनले भने।
महासचिव के के मानन्धरले १३ वर्षअघि स्थापना भएको नेवा पत्रकार राष्ट्रिय दबूले पत्रकार अधिकार, अभिव्यक्ति स्वतन्त्रता, समावेशी पत्रकारिता र मातृभाषा पत्रकारिताको प्रवद्र्धनका क्षेत्रमा निरन्तर काम गरिरहेको जानकारी दिए।
यसअघि २०८१ साल जेठ १९ र २० गते पहिलो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो। दोस्रो सम्मेलनले यस पहललाई अझ संस्थागत बनाउने अपेक्षा गरिएको छ।