
कास्की, जेठ २९
नेपाल सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत पोखरा महानगरपालिकामा विश्व बैंकको आर्थिक सहयोगमा तीन वटा सडकको स्तरोन्नतिको कार्य जारी छ।
निर्माणाधीन सडकहरूमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक, र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक पर्छन्। पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ को मार्चमा सम्झौता भई परियोजना सुरु गरिएको हो। प्रारम्भमा पाँच वर्षको अवधिका लागि गरिएको उक्त सम्झौतामा हाल एक वर्ष थप गरिएको महानगरपालिकाले जनाएको छ।
हालसम्म शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ प्रतिशत, तालचोक–बेगनास सडकको ५५ प्रतिशत, र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको ४० प्रतिशत पुगेको जनाइएको छ।
तालचोक–बेगनास सडकः चार लेनमा स्तरोन्नति
कुल ३.२८ किमी दुरीको तालचोक–बेगनास सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ कम्पनीले निर्माणको जिम्मा पाएको हो। रु १ अर्ब ४९ करोडको अनुमानित लागत रहेको यो आयोजना करसहित रु ७५ करोड ४८ लाखमा सम्झौता भएको महानगर इन्जिनियर भरत गौतमले जानकारी दिए।
यस सडकमा फुटपाथ, साइकल लेन, सडकबत्ती, पार्किङ, तीन वटा पुल, र यात्रु प्रतिक्षालयसहित बगैँचासमेत निर्माण गरिनेछ। तर, निर्माण कम्पनीको ढिलासुस्ती र केही स्थानमा जग्गा विवादका कारण सडक निर्माणमा ढिलाइ भइरहेको छ।
यो सडक पृथ्वी राजमार्गसँग जोडिएर बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ पुग्ने भएकाले आर्थिक र पर्यटन गतिविधि विस्तार हुने आशा गरिएको छ।
शिशुवा–सिसाघाट सडक
कुल ४.१४ किमी दुरीको शिशुवा–सिसाघाट सडक सन् २०२४ अप्रिल १४ बाट निर्माण सुरु भएको हो। आशीष निर्माण सेवाले रु ३४ करोड ११ लाखमा निर्माणको जिम्मा लिएको हो। यस खण्डमा साइकल ट्र्याक, फुटपाथ, सडकबत्ती, र चार वटा कल्भर्ट निर्माण भइरहेका छन्।
दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक
१२.४४ किमी लामो यस सडकलाई गण्डकी प्रदेश राजधानी पोखरामा भित्रने वैकल्पिक मार्गको रूपमा हेरिएको छ। गत वर्षको असारदेखि सुरु गरिएको यस सडकको हालसम्मको भौतिक प्रगति ४० प्रतिशत मात्र रहेको छ। आशीष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा यो सडक निर्माणको जिम्मा लिएको हो। काम समयमा नसकिएपछि एक वर्षका लागि ठेक्का म्याद थप गरिएको महानगरपालिकाले जनाएको छ।






