
पोखरा,१९ जेठ
पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा गीता आश्रम निर्माण कार्य अघि बढाइएको छ । निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको निर्माण समितिले जनाएको छ।
डिपिआर अनुसार आश्रम निर्माणमा करिब ३ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गीता आश्रम निर्माण समिति सम्योजक बजीरमान श्रेष्ठका अनुसार निर्माणको प्रारम्भिक तयारी पूरा भइसकेको छ र रकम जुटाउने पहल तीव्र पारिएको छ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले आश्रम निर्माण समाज र संस्कृतिका लागि सकारात्मक पहल भएको भन्दै सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाएका छन्। मन्त्री थापा सहितको टोलीले गीता मन्दिरको निर्माणस्थल निरीक्षण समेत गरेको थियो।
समिति अध्यक्ष प्रेमप्रसाद उल्लकको नेतृत्वमा भएको उक्त उक्त स्थानको निरिक्षण मन्त्री थापा, वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य लगायतको सहभागिता रहेको थियो। पोखरा ११ का वडाध्यक्ष तथा गीता अध्ययन मण्डलका कोषाध्यक्ष कर्माचार्यले पोखराको मुटुमा रहेर पनि गीता मन्दिर ओझेलमा परेको गुनासो गर्दै अब आश्रम निर्माणसँगै मन्दिरको पहिचान बलियो बन्ने विश्वास व्यक्त गरे।
समिति अनुसार गीता आश्रमले गण्डकी अस्पतालमा उपचार गराउन आउने बिरामीका आफन्त तथा धार्मिक भ्रमणमा पोखरा आउने पर्यटकहरूलाई सहज बासको सुविधा दिनेछ। धार्मिक तथा सामाजिक दृष्टिकोणले समेत यस निर्माणले पोखराको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा लिइएको छ।




