
१४ जेष्ठ २०८२, पोखरा
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन ्। मंगलबार पोखरामा सम्पन्न निर्वाचनमा थेबेले सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरी बिजयी बनेका हुन । थेबेले ७९६ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्प्रर्धी पुरीले ६०८ मत प्राप्त गरे । कुल १,७६४ प्रतिनिधि मध्येमा १,४०४ जनाले मात्र मतदान प्रकृयामा सहभागिता जनाएका थिए ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। सुमन पुरीले सर्वसम्मति अस्वीकार गरी निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने अडान लिएका कारण प्रजातान्त्रिक प्रणालीको अवलम्बन गर्दै निर्वाचन सम्पन्न भएको जनाईएको छ ।
महाधिवेशनमा ३९९ जनाले उम्मेदवारी दिएका थिए जसमा ९ पदाधिकारी सहित १५१ सदस्यीय केन्द्रीय समिति र ४ विभागका १६३ पदका लागि निर्वाचन भएको थियो । ६४ पदमा भने निर्विरोध निर्वाचन सम्पन्न भएको थियो ।
थेबेको प्यानलले अधिकांश पदमा जित हासिल गरेको छ । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ मत ल्याउँदै पुरी प्यानलका कुबेर अधिकारी (६४९ मत) लाई पराजित गरे । उपाध्यक्षमा थेबे प्यानलका महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी, महिला सचिवमा निशा लिम्बु सुब्बा र मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भए । यस्तै अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी र युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा निर्वाचित भए ।
नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई ने क पा एमाले गण्डकीले बुधबार सम्मान समेत गरेको छ ।
नव निर्बाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुताबिक सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।




