
पोखरा २३, वैशाख,
राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आउँदो जेठ नौ गतेबाट पोखरामा हुने भएको छ । पर्यटनको राजधानि पोखरामा पहिलो पटक उक्त महाधिवेशन आउँदो जेठ ९ गते देखि ११ गतेसम्म हुने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
उक्त महाधिवेशनमा देशभरीबाट २ हजार जना प्रतिनिधिको उपस्थिति रहने गरी तयारी गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बताए । साथै उक्त अधिवेसनले नयाँ नेतृत्व चयन सहित २० बर्षीय युवा रणनीतिक योजना ल्याउने अध्यक्ष थेवेले जनाए । उक्त कार्यक्रमको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएकोे थेबेले जनाए ।
नेपालको कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत युवाको जनसंख्या रहेको बताउदै अध्यक्ष थेवेले नेपालमा युवाहरुलाई राख्न र स्वरोजगार एवं उद्यमी बनाउन विना धितोमा ऋण दिने व्यबस्था आफ्नो पहलमा सरकारले ल्याउन लागेको समेत जनाए ।
संघका ईन्चार्ज राजिव पहारीले पोखराको फेवाताल सुस्ताएको उल्लेख गर्दै ताल खुम्चिएर पोखरीको रूपमा परिणत हुँदै गएकोमा चिन्त्ता व्यक्त गरे । निरंकुसबादी बिरूद्व युवा संघ लड्ने बताउदै पहारीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने तर राजतन्त्र कुनै हालतमा हुनै नुक्ने बताए । उक्त महाधिवेसन कम खर्चमा मितव्ययी ढंगबाट गरिने भएको उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जनाए । संस्थाका सदस्यहरुबाट लेवि, प्रतिनिधि शुल्क, केही सहयोगी दाताको सहयोगबाट अधिवेशन व्यबस्थापन गरिने र खानपिनको लागि चामल, दाल, मोही सम्म सहयोग आउन थालिसकेको संघले जनाएको छ ।







