
२ माघ नुवाकोट
रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेका नेपालका सर्वाधिक रक्तदाताको सूचीमा पहिलो नम्बरमा गनिएका प्रेमसागर कर्माचार्यले रत्तदानको महा अभियानका क्रममा नुवाकोट पुगेर १८१ औँ पटक रक्तदान गरेका छन ।
शनिबार विदुर सीटी युथ क्लव र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन ्। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य नेपालको आपतकालीन रक्तसञ्चारको नामले पनि परिचित छन ।
बिभिन्न जिल्लामा गई रक्तदान गर्दै उत्प्रेरणा जगाउँदै आइरहेका कर्माचार्यले यो पटक नुवाकोटको विदुर आएर रक्तदान गर्न पाउँदा निक्कै खुशी लागेको बताए।
रक्तदान गर्नु जीवन दान गर्नुजस्तै हो भन्दै सन्देश फैलाइरहेका कर्माचार्य ‘ए पोजेटिभ’ रगत समूहका हुन् । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको उनको भनाइ छ ।
नुवाकोटमा पनि केहि सातामै नेपाल स्वयंसेवी रक्तदाता समाज नुवाकोट जिल्ला शाखा गठन गरिने उनले बताए । आयोजक संस्थाले पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव र विदुर कल्याणकारी बहुमुखी सहकारीको २७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए।




