
कार्तिक ८ पोखरा
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो पटक सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई गत आइतबार अदालतले छ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज गुज्रिँदै थियो ।
लामिछानेको मंगलबार र बुधबार सहकारी वकिलको कार्यालय कास्कीमा बयान गराइएको थियो । उनको बयान नसकिएको भन्दै प्रहरीले आज उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।
प्रहरीले लामिछानेलाई बयानका लागि रुपन्देहीसमेत लैजाने तयारी गरेको छ । बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा पनि लामिछानेको नाम जोडिएको छ । यस्तै सहारा सहकारी चितवनलगायतका सहकारीमा पनि उनको नाम जोडिएकाले पालैपालो बयान गराउने तयारीमा प्रहरी छ ।




