नौ वर्षपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

-


     केन्द्रीय आवाज    
     असाेज २९ गते २०८१ मा प्रकाशित


आश्विन २९ पोखरा
शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर अपरान्ह पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।
दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण भएको हो ।
दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्षी इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।
करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।
२००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० देश स्थायी सदस्य रहेका छन् । जसमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, कीर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तान छन् ।