काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

-


     केन्द्रीय आवाज    
     असाेज १२ गते २०८१ मा प्रकाशित


भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित भाटभाटेनी सुपर मार्केटको अगाडिको सडकमा जमेको पानी पार गर्नेक्रममा एक सवारी साधान । तस्बिरः नारायण न्यौपानी÷रासस

असोज १२ गते
गएको बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार, विपद्का घटनामा परी १७ जना बेपत्ता छन् । १७ जना घाइते भएका छन् ।
बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् । भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौंमा एक हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार १०० र भक्तपुरमा ३५० प्रहरी खटाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।