
श्रावण २०,पोखरा
पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाटउमराज बास्तोलाको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ ।
त्यसैगरि वरिष्ठ उपाध्यक्षमा प्रेम सुवेदी, उद्योग उपाध्यक्षमा नवराज आचार्य, बस्तुगत उपाध्यक्षमा नबीन बराल, वाणिज्य उपाध्यक्षमा श्यामकुमार मल्ल चयन भएका छन् ।
यस्तै, महासचिवमा गोकर्ण अधिकारी, कोषाध्यक्षमा जीवन ढुंगाना, सचिवमा सरिता सुवेदी, सचिवमा सीमा कोईराला, सह–कोषाध्यक्षमा बोधराज सुवेदीसहित ३७ सदस्यीय कर्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । ४१ सदस्यीय समितिमा ४ जना पहिलो बैठकबाट मनोनित गरिने नवनिर्वाचित कोषाध्यक्ष जीवन ढुंगानाले जानाकारी दिए ।

कार्यक्रमको समुद्धघाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गरेकी थिईन । उद्धघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताएकी छन् ।
मन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखिन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले उद्योगी–व्यवसायीहरूले संस्थागत हकअधिकारको सुनिश्चिततासहित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
संस्थाका अध्यक्ष एमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीलगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिले उद्योग–व्यवसायको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गरे ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सद्वारा प्रकाशित ‘पोखरा चेम्बर दर्पण’ को लोकार्पण गर्नुका साथै संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।





