
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताए ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरु समेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे । देशमा राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने रहेको उनले बताए । साथै प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बृहृत छलफल गरी निष्कर्षमा पुराउनु पर्ने लगायत संविधान संशोधन सहित धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्ने उनले बताए ।




