
चैत्र ११ पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् ।

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुन भित्र रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिए ।
लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा धन्यवाद दिदैै प्रदेश प्रमुख भट्टले आयोगले अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने कुरामा जाडे दिए ।
साथै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही दु्रत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशीने क्रममा त्रिब्रता भएका कारण रिक्त पदको आयोगले छिटो परीक्षा सञ्चालन गरी उनीहरुलाई नेपालमा नै रोजगारीको सृजना गरि स्वदेशमा नै बस्ने वातावरण बनाउनु पर्ने बताए ।
साथै मुख्यमन्त्री पाण्डेले नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटकपटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

पूर्वमुख्य मन्त्री खगराज अधिकारीले लोकसेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास मर्न दिन नहुने बताए । लोकसेवा आयोग देशको स्थायी सरकार भएकाले यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा कुरामा उनले जोड दिए ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकाल देखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनाविश्वास कायमै राख्नुपर्नेमा जोड दिए ।
लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना कामकारबाहीका बारेमा प्रकाश पारिएको थियो । उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचन समेत गरिएको थियो ।




