
लुम्बिनी चैत १० गते
विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।
परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् । ‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गर्दै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश पनि प्रवाह गरेका थिए ।
यसका साथै उनीहरुले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरिरहेको सन्देशसहित नेपालमा लगानीका लागि पनि उनीहरूले विश्वभर सन्देश प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन् ।
आयोजकहरुले लुम्बिनीबाट शान्तिको सन्देशका साथै नेपाललाई लगानीको गन्तव्यका रुपमा चिनाउन र आगामी महिना नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको वातावरण निर्माण गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए अनुसार नेपालमा विदेशी लगानी भित्र्याउने अवसरका रुपमा पनि यस सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।
धार्मिक एवं सांस्कृति पर्यटनका लागि लुम्बिनीको प्रचारप्रसार गर्न तथा नेपालमा विदेशी लगानी भित्र्याउनका लागि यहाँ लगानीको सहज वातावरण रहेको सन्देश प्रवाह गर्न लुम्बिनीमा विभिन्न देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्यदूतहरूको सहभागितामा सो कन्क्लेभको आयोजना गरिएकाले थियो । लुम्बिनीमा तीन दिनसम्म यसै विषयमा छलफल गरिएको थियो ।
आगामी महिना नेपाल सरकार, लगानी बोर्ड र उद्योग वाणिज्य महासघ समेतको आयोजनामा नेपालमा लगानी सम्मेलनको आयोजना गरिएको छ । सो सम्मेलनका लागि नेपालमा बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन यहाँ लगानीको वातावरण छ भन्ने सन्देश दिने काम यस तीन दिने सम्मेलनमा भएको आयोजकहरुले जनाएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति, समृद्धि र आर्थिक विकासलगायतका विषयमा विदेशी पाहुनाहरुसँग छलफल गरेका थिए । उनले शान्ति र समृद्धि एकअर्काका पूरक हुन् भन्दै यसको सन्देश लुम्बिनीबाट नै अन्तर्राष्ट्रियस्तरमा पुग्नु महत्वपूर्ण हो भने ।
विभिन्न विषयका ‘सेसन’ आयोजना गरिएकामा ‘बिजनेस सेसन’ मा उनले विकासको गतिलाई थप अघि बढाउन शान्ति आवश्यक रहेको र लुम्बिनीले विश्वमा शान्तिको सन्देश दिने भएकाले यहाँबाट शान्ति र समृद्धिको सन्देश दिनु उचित रहेको बताए ।
सो सम्मेलनका सहभागीहरुले विश्व शान्तिको केन्द्र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित सम्मेलन शान्तिपूर्ण र समृद्ध विश्व बनाउने आधारशिला निर्माणमा उपयोगी भएको विश्वास व्यक्त गर्दै विश्वका लगानीकर्ताहरुलाई नेपाल एक आकर्षक लगानी एवं पर्यटन गन्तव्य भएको सन्देश प्रवाह गर्न सफल भएको बताएका थिए ।
शुक्रबार सम्पन्न सो सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूतको सहभागिता रहेको थियो ।




