
२४ फाल्गुण,कास्की ।
पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका महानगरका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम हस्तान्तरण गरे । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, ९ हजार पाँच सय २० केजी सिमी र २ सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको हो ।
पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।
उनका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको बताए ।
न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ । यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिने बताएको छ ।
न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने किसानमा चिसापानी च्याउ फार्म पोखरा–२२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्यबापत ११ हजार एक सय ६६ केजी च्याउको रु ४ लाख ८५ हजार ९ सय ४० प्राप्त गरे ।
त्यसै गरि भुर्जङ्खोला च्याउ फार्म पोखरा–१९ का सुष्मा सुनार गहतराजले सात हजार पाँच सय ६० केजी च्याउको रु तीन लाख ६२ हजार नौ सय २०, शोभा अग्र्यानिक मल्टिएग्रो फार्म पोखरा–२६ का मुकुन्द खड्काले ९ हजार सात सय १४ केजी च्याउको रु ३ लाख १७ हजार ४४, ग्रिन लाइम मसरुम फार्म पोखरा–२४ का चोविन्द्रबहादुर कुँवरले रु ३ लाख एक हजार सात सय ४० पाए ।
यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा–३३ का प्रताप सुवेदीले ९ हजार एक सय १३ केजी च्याउको रु ३ लाख आठ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा–११ का ध्रुवबहादुर थापाले ५ हजार २ सय २५ केजी च्याउको रु १ लाख ७४ हजार २ सय २६, भोर्लेटार च्याउ उद्योग पोखरा–३२ का मनोरञ्जन पौडेलले ६ हजार २ सय ३ केजी च्याउको रु १ लाख ६८ हजार ७ सय छ पाए ।
अधिकारी अग्र्यानिक च्याउ फार्म पोखरा–१४ का मीना अधिकारीले २ हजार ७ सय २४ केजी च्याउको रु ८३ हजार ४ सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा–१४ का हरिमाया अधिकारीले १ हजार २ सय ५६ केजी च्याउको रु ४९ हजार ६ सय महानगरबाट समर्थन मूल्य प्राप्त गरे ।
यसैगरी एसके कँडेल कृषि फार्म पोखरा–२८ का सन्तोष कँडेलले ३ हजार ९ सय ५० केजी सिमीको रु ६९ हजार ९ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६ सय ७० केजी सिमीको रु ६२ हजार ८ सय ९०, राति पोखरी कृषि फार्म पोखरा–२२ का अग्निमाया बरालले ८ सय २५ केजी सिमीको र १ हजार ७ सय ५४ केजी गोलभेँडाको रु ३५ हजार ४ सय २१, निलम कृषि फार्म पोखरा–१४ का यामबहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको रु २३ हजार ४ सय ७५ बुझे ।
रोशन एण्ड रोहित कृषि फार्म पोखरा–१४ का रमेश खनालले २१ हजार ३ सय १४ केजी गोलभेँडाको रु २ लाख १९ हजार ३ सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा–१४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २ सय ८२ केजी गोलभेँडाको रु १५ हजार ५ सय २४ र हरियाली कृषि फार्म पोखरा–३३ का शुकदेव सुवेदीले २ सय ९१ केजी कोदोको रु ८ हजार ७ सय ३० पाए ।
किसानलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका किसानको साथमा रहेको बताए ।
कृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र किसानका लागि निकै महत्तवपूर्ण रहेको प्रमुख आचार्यले बताए ।
कृषि व्यवसायमा लागेका किसान निरुत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले व्यहोर्नुपरेको नोक्सानीमा मल्हम लगाउन महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको किसानहरूको भनाइ रहेको छ ।






