
काठमाडौं, २३ फागुन
प्रचन्ड सरकारका नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोह बीच तीन जना उपप्रधानमन्त्री सहित १६ जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।
सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गरेका छन् । उनले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन् भने पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जीम्बेवारी पाएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना र हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्वेवारी सम्हालेका छन् ।
त्यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी भएका छन् ।
भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बनेका छन् ।
प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् । समाजवादी पार्टी पनि सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको यो सरकारले सुविधाजनक बहुमत पाएको छ ।




