
१० माघ काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए ।
केही दिनअघि प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेको बताउदै मन्त्री ज्वालाले अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनु पर्ने निष्कार्ष निकालेको बताए । यस प्रकृयालाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको मन्त्री ज्वालाले बताए ।
आफुहरुका पनि केही सीमा रहेको बताउदै मन्त्रि ज्वालाले ती सीमालाई सम्मान गर्दै राम्रा कार्यहरु गरेका बताए । रकम भुक्तानी र आवेदन अनलाइन मार्फत भर्न सकिने व्यवस्था गरेको बताउदै सवारी लाइसेन्समा भएको घोटाला बाहिरा ल्याएको दावी गरे ।
मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नक्कली लाइसेन्सको घोटालामा केहीको संलग्नता देखिएका्ेमा थप अनुसन्धान गरिने बताए ।




