रास्वपाका गण्डकी सभापति त्रिपाठी सम्मानित

-


     केन्द्रीय आवाज    
     असार २ गते २०८३ मा प्रकाशित


पोखरा, असार २
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मान पत्रसहित सम्मान गरेको छ ।
क्लबद्वारा आयोजित विशेष समारोहमा त्रिपाठीको प्रभावशाली नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पु¥याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान अर्पण गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेमजाका निर्देशक समेत रहेका छन्।
सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार, प्रेरित र सेवामुखी बन्न ऊर्जा प्रदान गरेको उल्लेख गर्दै समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबसँगको सहकार्य, मित्रता र सामाजिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास समेत व्यक्त गरे।
उक्त अवसरमा क्लबका सचिव लायन कृष्णमान श्रेष्ठ तथा लियो लायन मनोज त्रिपाठीको जन्मदिनको अवसर पारेर विशेष शुभकामना आदान–प्रदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
कार्यक्रममा लायन्स वर्ष २०२५÷२६ का अध्यक्ष लायन दुर्गा प्रसाद पौडेल, संस्थापक अध्यक्ष लायन तीर्थबहादुर थापा, निवर्तमान अध्यक्ष लायन सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष लायन सुरेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष लायन नवराज त्रिपाठी तथा लियो लायन विष्णुप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्वको सफल कार्यकाल र समाजप्रतिको योगदानको उच्च प्रशंसा गरेका थिए।
सो अवसरमा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सम्मानित लायन नवीन त्रिपाठी, सचिव लायन कृष्णमान श्रेष्ठ तथा लियो लायन मनोज त्रिपाठीको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफल जीवनको कामना गरेका थिए।