पत्रकारका लागि साइबर सुरक्षा तालिम सुरु

-


     तुलसी राम सुवेदी    
     फागुन १० गते २०८२ मा प्रकाशित


पोखरा, १० फागुन ।
डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दो साइबर अपराधको चुनौतीलाई मध्यनजर गर्दै कास्कीमा क्रियाशील पत्रकारहरूका लागि तीनदिने साइबर सुरक्षा सम्बन्धी तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कास्कीको प्राविधिक सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अपराध जटिल र संगठित चुनौतीका रूपमा देखा परेको उल्लेख गर्नुभयो । उहाँले पत्रकार जस्ता सूचना संवाहकहरू साइबर आक्रमणको उच्च जोखिममा रहने भएकाले डिजिटल सुरक्षासम्बन्धी सचेतना र सीप अपरिहार्य भएको बताउनुभयो । यस्ता तालिमले सञ्चार क्षेत्र मात्र नभई समग्र समाज र राज्य संयन्त्रलाई समेत साइबरजन्य अपराधबाट सुरक्षित राख्न महत्त्वपूर्ण योगदान पु¥याउने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले तालिमले पत्रकारहरूलाई डिजिटल माध्यममार्फत हुने ठगी, डाटा दुरुपयोग र गोपनीयता उल्लङ्घनजस्ता जोखिमबाट जोगिन व्यावहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणानिधि पाण्डेले वर्तमान प्रविधिमैत्री युगमा साइबर सुरक्षा तालिम अत्यन्त सान्दर्भिक रहेको बताउँदै पत्रकार महासंघ कास्कीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो।
तालिममा सहजीकरण गर्दै गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उपप्राध्यापक ई. सन्तोष पन्थले सामान्य सावधानी नअपनाउँदा धेरै व्यक्ति साइबर अपराधको सिकार बन्ने गरेको उल्लेख गर्नुभयो। उहाँले इन्टरनेटमार्फत हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, फिसिङ तथा अनधिकृत पहुँचजस्ता जोखिमबाट बच्ने उपाय र सुरक्षात्मक अभ्यासबारे विस्तृत जानकारी दिनुभयो ।
यसैगरी, डिजिटल बैंकिङ सुरक्षासम्बन्धी सत्रमा नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले अनलाइन कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, ओटीपी तथा पासवर्ड सुरक्षाका उपायबारे प्रशिक्षण दिनुभयो।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ७० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष माधवप्रसाद रेग्मीले राख्नुभएको थियो भने सञ्चालन सहसचिव मधु अधिकारीले गर्नुभएको थियो ।