
२२ जेठ, पोखरा
कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रुद्रा शर्माले बुधबारदेखि औपचारिक रूपमा सम्हालेकी छन्। लामो समयदेखि गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्लामा प्रशासकीय जिम्मेवारी सम्हाल्दै आएकी शर्मा हालै कास्कीमा पदस्थापन भएकी हुन्।
जिम्मेवारी सम्हालेसँगै उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्दै शान्ति सुरक्षासहित समग्र जिल्ला अवस्थाबारे जानकारी लिने काम अगाडि बढाएकी छन्। उनको स्वागत गर्न जिल्ला प्रशासन कार्यालयमा पुगेकाहरूको उपस्थिति उल्लेखनीय रहेको छ।
शर्माको प्रशासनिक यात्रा रामेछापबाट सुरु भएको हो। त्यसपछिका वर्षहरूमा उनले गुल्मी, काभ्रे, भक्तपुर, बर्दिया लगायत जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीको रूपमा सेवा दिएकी थिइन्। बाग्लुङको पैयुँपाटा स्थायी घर भएकी शर्माले हाल काठमाडौँमा बसोबास गर्दै आएकी छन्।
नेपाल सरकारको सहसचिवमा बढुवा भएकी शर्मा संचार तथा सूचना प्रविधि मन्त्रालय हुँदै गृह प्रशासनमा प्रवेश गरेकी हुन्। आफ्नो कामको सिलसिलामा उनले अमेरिका लगायतका विभिन्न मुलुकहरूको भ्रमणसमेत गरिसकेकी छन्।
स्पष्ट रूपमा आफ्नो विचार व्यक्त गर्न सक्ने र कुशल प्रशासनिक क्षमताकी रूपमा परिचित शर्मा झण्डै एक दशकदेखि गृह प्रशासनमै सक्रिय छिन्। अहिलेसम्म कुनै विवादमा नआएकी उनी कास्कीमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
यसअघि कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भरतमणि पाण्डेले सम्हालेका थिए।






