सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यले जुम्लामा १८० औं पटक रक्तदान गर्दै ।

-


     केन्द्रीय आवाज    
     कार्तिक २ गते २०८१ मा प्रकाशित


Premsagar Karmacharya

कार्तीक २ जुम्ला

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८० औं पटक रक्तदान गरेका छन् । सर्वाधिक रक्तदाताका रुपमा परिचित उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ल्याबमा पुगेर रक्तदान गरेका हुन् । उनी नेपालको आपत्कालीन रक्तसञ्चारको नामले पनि चिनिन्छन ।
काठमाडौं बागबजार निवासी कर्माचार्यले रक्तदाताले दिएको रगत बिरामीलाई निःशुल्क दिनुपर्ने बताउदै आएका छन् । कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका उनले दुर्गम क्षेत्रमा आएर रक्तदान गर्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा रक्तदान गर्ने बानी बसिरहेको हुँदैन । रक्तदान गर्नु जीवन दान गर्नुजस्तै हो भन्दै सन्देश फैलाउन आफुले जुम्ला अएर रत्तदान गरेको बताए ।’
रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको उनको भनाइ छ । दुर्गममा बसोबास गर्ने नागरिकमा रक्तदान गर्ने उत्साह बढोस् भन्ने चाहनाका साथ रक्तदान गर्न दुर्गम जिल्लाहरुमा दौडिरहेको उनले बताए । ’कुनै पनि बिरामी रगत अभावका कारण मृत्युबरण गर्न नपरोस् भन्ने मान्यता रहेको बताउदै उनले , ’यो मान्यता सबैमा पलाओस् भन्ने हेतुले जिल्लाहरुमा पुगिरहेको बताए ।’
’कसैको ज्यान बचाउन र पुन्य कमाउने सबैभन्दा ठूलो दान भनेको रक्तदान नै हो । यो भावना सबै मानिसहरुसम्म पुग्न सकिरहेको छैन,’ उनले भने, ‘म दुर्गम जिल्लाहरु, गाउककबस्तीहरुसम्म पुगेर रक्तदान गरेर सन्देश फिजाइरहेको छु ।’
उनले काठमाडौं उपत्यका र अस्पतालबाहेक २८ भन्दा धेरै जिल्ला अस्पतालहरुमा पुगेर रक्तदान गरिसकेका छन् । ४० भन्दा बढी जिल्लामा स्वयंसेवी रक्तदाता समाज गठन भइसकेको छ । उनले १६ वर्षको उमेरदेखि रक्तदान सुरु गरेका हुन् ।
उनले हरेक पालिका र वडाहरुमा समेत रक्तदाताहरु जन्माउनुपर्नेमा जोड दिए । अहिले कर्णाली लगायतका अस्पतालमा रगत अभावका कारण जटिल प्रकारका शल्यक्रियाहरु गर्न निकै कठिन छ । सेना र प्रहरीले दिएको रगतका आधारमा अप्रेसनहरु हुने गरेका छन् ।