२१औँ लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा

-


     तुलसी राम सुवेदी    
     पौष १ गते २०८२ मा प्रकाशित


लेखनाथ, १ पुस ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने २१औँ संस्करणको लेखनाथ महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले वर्तमान विषम आर्थिक अवस्थाबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने, व्यवसायी र उपभोक्ताबीच खस्किएको मनोबल उच्च बनाउने तथा स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन् । जेन–जी पुस्ताको बजार प्रभावलाई समेत ध्यानमा राखेर महोत्सवलाई समयसापेक्ष बनाइएको उनको भनाइ थियो ।
महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै पराजुलीले लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारिन् ।
पुस ३ गते बिहीबारदेखि सुरु हुने महोत्सवका विशेष आकर्षणहरूमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योगसम्बन्धी टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक तथा साहित्यिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने झाँकी र्याली तथा सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ । साथै, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी, युवा लक्षित पप तथा सुगम सङ्गीत कन्सर्ट पनि महोत्सवका मुख्य आकर्षण रहनेछन् ।
यसका अतिरिक्त महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बीउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल र अटोमोबाइल प्रदर्शनी आयोजना गरिनेछ । पर्यटन प्रवर्द्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी जानकारीसमेत उपलब्ध हुने आयोजकले जनाएको छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवा तथा सूचना मूलक गरी ३ सय ३५ वटा स्टल रहनेछन् ।
महोत्सव अवलोकनका लागि करिब २ लाख ५० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवका प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई करिब १० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा विभिन्न संघ–संस्थाको सहयोग रहने आयोजकले जनाएको छ ।
महोत्सवको प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ, साधारण प्रवेश १०० रुपैयाँ र कन्सर्ट टिकट २०० रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.को मुख्य प्रायोजनमा आयोजना हुने महोत्सवका सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक अस्पताल), पशुपति बिस्कुट र हेटौडा डेरी रहेका छन् ।