
२०८२ चैत १७, पोखरा
नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा कास्कीका तीन जना पत्रकार पुरस्कृत भएका छन् भने सहारा क्लब पोखरा सम्मानित भएको छ।
सोमबार पोखरामा आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान राजनीतिक सन्दर्भमा पत्रकारिताको भूमिका अझ महत्वपूर्ण बनेको बताएका छन्। उनले कानून बाधक बनेमा संशोधन गर्न सकिने भए पनि कसैले पनि कानून हातमा लिन नहुने स्पष्ट पारे।
मुख्यमन्त्री पाण्डेले सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको वर्तमान अवस्थाले पत्रकारितामाथि थप जिम्मेवारी आएको उल्लेख गरे। “पत्रकारिता कमजोर भए सत्ता निरंकुश बन्न सक्छ,” उनले भने, “त्यसैले पत्रकारले ‘वाचडग’को भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ।”
उनले सरकार संयमित रहनुपर्नेमा जोड दिँदै बदलाको भावनाबाट प्रेरित भएर अघि बढे स्वतन्त्रता र न्याय दुवै जोखिममा पर्ने चेतावनी दिए। न्यायपालिका, पत्रकारिता र नागरिक समाज आफ्नो दायित्वबाट विचलित भए लोकतान्त्रिक मूल्यहरू कमजोर हुने उनको भनाइ थियो।
कार्यक्रममा अग्रज पत्रकार राजबहादुर गुरुङलाई ‘पोखरा पत्रकारिता सम्मान २०८१’ प्रदान गरिएको छ। उनलाई नगद रु. ५० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो। गुरुङ विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन्।
संस्थागततर्फ सहारा क्लब पोखरा सम्मानित भएको छ। क्लबले सञ्चालन गरेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवासीय फुटबल एकेडेमीमा हाल विपन्न तथा कठिन परिस्थितिका ३० जना बालक आश्रित छन्। क्लबले हरेक वर्ष ‘आहा रारा पोखरा गोल्डकप’ आयोजना गर्दै सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउँदै आएको छ।
त्यसैगरी, ‘जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र एकराज गिरी पुरस्कृत भएका छन्। पुरस्कारको राशि नगद रु. २५ हजार ५ सय ५५ र सम्मानपत्र रहेको छ। अधिकारी हाल गोरखापत्र दैनिकमा तथा गिरी सफल न्यूजमा आवद्ध छन्।
सम्मान छनोट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका थिए। त्यसैगरी, पत्रकार रुद्र श्रीस मगर र भीम थापाको सिफारिसमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जानकारी महासंघका सचिव भूपाल गुरुङले दिएका हुन्। महासंघले प्रत्येक वर्ष विभिन्न विधामा पत्रकार तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ। उपाध्यक्ष माधव रेग्मीका अनुसार महासंघले वार्षिक रूपमा कम्तीमा आठ वटा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ।





