राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन खारेज

-


     केन्द्रीय आवाज    
     चैत्र १५ गते २०८२ मा प्रकाशित


२०८२ चैत १५, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा क्रियाशील कर्मचारी युनियन खारेज गरिएको छ। सरकारले अघि सारेको शासकीय सुधार तथा मितव्ययिताको योजना कार्यान्वयन गर्ने क्रममा युनियन विघटन गरिएको हो।
सार्वजनिक निकायको संरचना चुस्त बनाउने, अनावश्यक खर्च कटौती गर्ने तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त निर्णय लिइएको जनाइएको छ।
मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ अन्तर्गत प्रशासनिक पुनर्संरचना र मितव्ययिता कायम गर्ने नीति अवलम्बन गरिएको छ। सोही कार्यसूचीको बुँदा नम्बर १२ बमोजिम कर्मचारी युनियन खारेज गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको हो।
बोर्डले उक्त निर्णयलाई कार्यान्वयन गर्दै युनियन औपचारिक रूपमा विघटन गरिएको जनाएको छ। युनियनका अध्यक्ष राजु ओलियाले एक सूचना जारी गर्दै चैत १५ गतेदेखि लागू हुने गरी युनियन भङ्ग गरिएको जानकारी दिएका छन्।
सरकारले हाल विभिन्न सार्वजनिक निकायहरूको पुनर्संरचना गर्ने प्रक्रिया तीव्र बनाएको छ। यसअन्तर्गत अनावश्यक संरचना हटाई प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य राखिएको छ।
यस निर्णयले बोर्डको कार्यसम्पादनमा थप चुस्तता र प्रभावकारिता आउने विश्वास गरिएको छ। साथै, १०० बुँदे कार्यसूचीमार्फत सरकारले सार्वजनिक प्रशासन सुधारका विभिन्न पहलहरू अघि बढाइरहेको छ।