
२०८२ चैत १५, काठमाडौं।
जिल्ला अदालत काठमाडौंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार उक्त म्याद थपको आदेश दिएको हो। अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अनुसन्धानका लागि आवश्यक देखिएकाले पाँच दिनको म्याद थप गरिएको हो।
अदालतको आदेशमा प्रतिवादीहरूको बयान लिनु, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्नु, घटनासम्बन्धी कागजात संकलन गर्नु तथा २०८२ भदौ २३ र २४ गतेको घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन–विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। सोही आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९६ बमोजिम हिरासतमा राख्ने अनुमति प्रदान गरिएको जनाइएको छ।
साथै, आदेशमा अध्यक्ष ओली अस्वस्थ भई उपचाररत रहेको उल्लेख गर्दै उनको आवश्यक र प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।
यसअघि सरकारी वकिल कार्यालयले दुवै नेतालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएको दमनसम्बन्धी छानबिन गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि शनिबार बिहान दुवैलाई पक्राउ गरिएको हो।
अध्यक्ष ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत अदालतमा उपस्थित भएका थिए भने नेता लेखक भने स्वयं अदालतमा उपस्थित भएका थिए।





